आवश्यकता फराकिलो सडक कि अनुशासनको?

सबैको अनुहारमा चिन्ताको धर्को स्पष्ट देखिन्थ्यो। छेउमा रहेको स्लाइड गरेर खोल्न मिल्ने सेतो ढोकाबाट ‘घ्यार्र’ आवाज आउँदा सबैको टाउको उतै फर्किन्थे। त्यहाँबाट एक नर्सले टाउको थोरै बाहिर निकालेर ‘फलानाको मान्छे को हुनुहुन्छ?’ भन्ने प्रश्न गर्नासाथ सबै चनाखो हुन्थे। त्यही समूहमा घरिघरि ढोकातिर फर्किने टाउको र उत्सुक कान भएको व्यक्ति म पनि थिएँ।

अस्पतालको पोस्ट अपरेसन वार्ड र आइसियूबाहिर बसिरहेका सबैको लगभग एउटै पीडा थियो। केही छिन् अघिको मौनतालाई चिर्दै गफ सुरु भयो। प्रश्न एउटै थियो, ‘तपाईंको बिरामीलाई के भएको?’ यो प्रश्नको जवाफ लगभग एउटै आयो। त्यहाँ अधिकांश कुरुवा दुर्घटनामा परेका चालकका आफन्त थिए। फरक यति थियो कि, कोही आफू तीव्र गतिमा सवारी साधन चलाएर घाइते बनेका थिए भने कोही तीव्र गतिमा आएकाहरुको ठक्करबाट घाइते भएका थिए।

भक्तपुरको चर्चित हाइवे नजिकैको हस्पिटलको बिरामी कुरुवा कक्षमा बसेर गफिइरहेका प्रायःका आफन्त त्यही सडकमा दुर्घटनामा परेका थिए। सबैको हाइवेसँग गुनासो थियो। छेउछाउमै घर भएका केही व्यक्तिले त आफूले देखेका निकै नराम्रा दुर्घटना सम्झन थाले। केही सुन्न सकिने थिए, केही मन चिसो हुने खालका।

केही समयअघि कुनै अनलाइनमै राजधानीमा बनिरहेका ठूला सडकले निम्त्याउन सक्ने दुर्घटनाबारे लेखिएको एउटा लेखको सम्झना आयो। त्यो लेखको आशय थियो, ‘सडक त ठूलो बने, गाडी धेरै अट्ने भए र चाँडै गुड्ने नि भए, तर के हाम्रा सडक सुरक्षित छन् त?’ अस्पतालमा सडक दुर्घटनाका घाइतेलाई निन्याउरो अनुहार लाएर कुरिरहेकाहरुका कुरा सुन्दा र दुर्घटनाका प्रकृति बुझ्दा लाग्थ्यो, ‘हो सडक त सुरक्षित छैनन्।’

केही दिनयता हस्पिटल आउने-जाने रुटिनले त्यो बाटो निरन्तर राति हिँड्नु परेको थियो। भक्तपुरको बाटोमा मोटरसाइकल लिएर राति यात्रा गर्नु सातो जाने कुरा रहेछ। दुईवटा दुर्घटना यहीबीचमा देखियो। एउटा, तीव्र गतिमा मोटरसाइकल आएर गाडीमा ठोक्किएर भएको थियो भने आर्को चाहिँ सडकको बीचमा गाईको बाछो आइपुग्दा गति घटाउन नसकेर भएको थियो। भक्तपुरको बाटोमा राति प्रायः मोटरसाइकल र गाडी गुड्ने होइन, उड्ने रहेछन्। त्यसमाथि प्रायः बाइक ‘हाइ विम’मा चलाइरहेका र जथाभावीको ओभरटेक।

बाटो छेउछाउ केही ठाउँ ‘गति सीमित, ६० किमि प्रतिघन्टा’ त लेखिएका छन्। तर, खाली सडकमा गाडी कुदाउँदा ती सानो अक्षर कसले पढ्न भ्याउने। फेरि, ६० किलोमिटरभन्दा ज्यादा स्पिडमा गुडेका बाइक र गाडीका चालकले ती अक्षर देख्ने कुरा पनि भएन। तिनलाई रोक्ने पनि कसले? लेन अनुशासन र मापसेमा कडाइ गरेजस्तो थोरै कडाइ गाडीको गतिमा गरिदिएदेखि केही दुर्घटना कम हुने थिए कि?

हुन त मापसेमा जस्तो रोकेर ‘के छ, कहाँ पुगेर आउनुभो, मापसे गर्नुभाछ?’ भनी सोधेर नहुने विषय हो यो। तर, टेक्नोलोजी र उपकरणमा निकै विकाश भएको यो समयमा उपाय भेट्न गाह्रो पनि त नहोला? बिरामीका आफन्तबीच चलिरहेको गफसँगै आफूभित्रको मनोवाद पनि ६० भन्दा माथिकै स्पिडमा दौडिरहेको थियो। आफ्नो मान्छे अरुका कारणले दुर्घटनामा परेको चिन्ताले मनमा प्रश्नैप्रश्नका सवारी साधन गुडेका गुड्यै थिए। तिनको गन्तव्य अर्थात् जवाफ मिलिरहेको थिएन।

‘राजधानी लगायत देशका विभिन्न सहरमा सडक विस्तारको लहर चलिरहँदा, हामीजस्ता ढोका बाहिर नर्सको आवाजको पर्खाइमा बस्नेको संख्या पनि बढे भने!’ बुटवल, धनगढी जस्तै देशका अरु सहरमा बन्दै गरेका ठूला सडक र हालै बनिरहेको काठमाडौं रिङरोडलाई सम्झिएँ।

साँच्चि फराकिलो भएका सडक सुरक्षित भएनन्, चालक अनुशासित भएनन् भने त पोस्ट अपरेसन वार्ड र आइसियूबाहिर खुट्टा टेक्ने ठाउँ पाइएला र? आखिर हामीलाई चाहिएको फराकिलो सडक मात्रै हो कि अनुशासन पनि हो? सडक बढाएर अनुशासन कायम गराउने कि चालकहरुलाई अनुशासित बनाएर सडक फैल्याउने?

ऐतिहासिकता बोकेको काठमाडौंका कुनाकानीका सडक भएका मठमन्दिरसमेत भत्काएर बिस्तार भएका छन्, केही हुँदैछन्। राजधानीबाहिर पनि ठूला-ठूला बाटा बनिरहेका छन्।

तर, के हामी त्यही अनुसार सडक सुरक्षित बनाउने उपायको खोजी र प्रयोग गरिरहेका छौं त? भक्तपुरकै ठूलो सडकको उदाहरण लिँदा, दिउँसो जामले हैरान बनाउँछ भने राति बत्तिएर कुद्ने गाडी र बाइकले त्राहीत्राही बनाउँछन्। यसले के संकेत गर्छ भने, सहर र बाटोको क्षमताभन्दा बढी सवारी साधन थुप्रिएका थुप्रियै पनि छन् र सडकमा अराजकता मौलाउँदै पनि गएको छ।

कोही अरुको गल्तीका कारण किन बरबाद होस्? सडकमा कसैको मनपरीका कारण अरु कसैले किन दुःख पाउनू? दुर्घटना हुँदै नहुने होइन, हुन्छ। तर किन हुन्छ, के कारणले हुन्छ, किन न्यूनीकरण भएन भनेर कसले सोचिदिने।

थोरै संख्यामा रहेका ट्राफिक प्रहरीको समय लगभग दिउँसोभरि जाम खुलाउन धुलोधुँवामा सिठी फुक्दै, हात हल्लाउँदै र राति मोटरसाइकललाई मापसे चेक गर्दैमा बितेको छ। सडक सुरक्षाका लागि यही परम्परागत शैली मात्रै पच्छ्याइरहने हो भने कतै हामीले सुविधाका लागि बनाएका ठूला सडक हाम्रै लागि घातक त हुने होइनन्? अनि फराकिलो बाटो भेट्नासाथ ‘एक्सलेटर’को कान चुँट्टिनेगरी निमोठेर चालकहरु कहाँ पुग्ने? गन्तव्यमा, कि पृथ्वी बाहिर?

मिति २०७५ असार ११ मा नेपाल लाइभमा प्रकाशित (Published on 25th June, 2018 in nepallive)

http://nepallive.com/story/26976

Bisesh Sangat Written by:

I am a Communication Practitioner. I mainly work with people and try to feel their story. I also am a music lover, a traveller and I am a huge Manchester United fan.

One Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *