जोर्डनलाई सम्झिँदा

काठमाडौं । २०७२ सालको भूकम्प नगएसम्म मेरो पनि कपनमा एउटा सानो घर थियो । बा र आमाले मिहिनेत गरेर जोडेको घर । तर, त्यो दिनको पराकम्पनले धेरै अरु भूकम्प पीडित जस्तै मेरो पनि कथा केही बदलिदियो। त्यसबेलाको गफ गर्न थाले दिन बित्छ तर आजको सन्दर्भ मेरो कुकुर “जोर्डन” को हो । भूकम्पको पराकम्पनसङ्गै उसको र मेरो सम्बन्ध पनि डगमगायो र अन्त्यमा तोडियो नै। मलाई माया गर्ने धेरै छन् । तर, धेरै माया गर्नेमा पर्थ्यो जोर्डन । मलाई मात्र होइन मेरो मोटरसाइकलको आवाज पनि परैबाट चिन्थ्यो उसले र मेरो मोटरसाइकलको आवाज सुनेदेखि म घर नपुगेसम्म ऊ कराई नै राख्थ्यो।

उसको म प्रतिको प्रेम सम्झँदा बेला बेला साह्रै दुःख लाग्छ र पश्चात्ताप पनि। म परेँ अल्छी मान्छे, उसलाई खाना दिने डुलाउने काम सबै आमाले गर्नुहुन्थ्यो तर पनि कुनै दिन आमाले मलाई गाली गरेको या केहीले हान्न लागेको जस्तो मात्र गर्दा पनि ऊ आमालाई नै भुक्दिन्थ्यो। आमा अहिलेसम्म नि कहिलेकाहीँ सम्झेर हाँस्नुहुन्छ। माया उसले घरको सबैलाई गर्थ्यो नै तर मसङ्ग उसको बेग्लै केही आत्मियता थियो, ऊ फुत्त भाग्न पाउँदा पनि मेरै खाटमा आएर बस्न रुचाउँथ्यो।

भूकम्प गएपछि आफ्नै वास पनि अस्थायी थियो, अनि ऊ आफ्नै खोरमा। अरु मान्छे देखेकी खाउँलाजस्तो गर्नेभएर उसलाई खुला छोड्न पनि मिलेन। आमा पनि पराकम्पन आउँदा भर्याङ्मा लडेर ढाडमा नराम्रो चोट लागेकाले सबै परिवारलाई चिन्ता आमाकै थियो। मेरो र जोर्डनको भेट पनि पातलियो, बेलाबेला खाना दिनेबेला भेट हुन्थ्यो उ सङ्ग । केही दिन बित्दै जाँदा धेरै खोजेपछि र सुरक्षित हिसाबले एक ठाउँ भाडामा बस्नलाई फ्ल्याट पाइयो । तर, धेरैअरु घरजस्तै घरबेटीले कुकुर राख्न नदिने भए । धेरै सोचियो अनि जोर्डनलाई पुरानै घरमा उसको खोर सुरक्षित राखेर त्यतै राखियो र उसलाई खाना भने लग्दिने गरियो ।

उसलाई अहिले सम्झँदा लाग्छ ‘एक्लोपनको शिकार मान्छे मात्र होइन कुकुर पनि हुँदोरहेछ सायद ।’ ऊ झनै रिसाउने हुन थाल्यो, एकदमै रिसाहा। उसलाई केही दिन सङ्गै राखी हेर्ने नि कोसिस गरियो तर अरु मान्छेदेखि नसहने। उसलाई सुइँ हान्ने नि बेला भइसकेको थियो र त्यही बेला जचाउन पनि पर्ला सोचेको थिएँ। सुइँ हान्ने डाक्टर पनि डराए जोर्डनको व्यवहार देखेर । डाक्टरले भनेअनुसार उसको उपचार गर्ने कोसिस गरियो तर पनि उसलाई धेरै समय दिनसकिएन र उसको व्यवहार पनि परिवर्तन भएन । ऊ म सङ्ग अलि शान्त हुन्थ्यो नत्र त आमालाई नि भुक्न थालिसकेको थियो ।

एक दिन एकजना भलाद्मी मान्छेले मेरो कुकुर लागेर राख्छु भने । पहिला नरमाइलो लाग्यो तर पछि जोर्डनको बारेमा सोच्दा ठिकै हो जस्तो लागेर लिएर गइदिएँ । वहाँको घरसम्म पुर्याएर एक ठाऊँ बानिदिएँ र उसलाई राम्रोसङ्ग बस्न भनेर निस्किए। ढोकाको तलबाट जहाँसम्म देखिन्थ्यो ऊ मलाई नै हेरेर भुकि नै रह्यो। उसले सायद “नाइ मलाई नछोड” भनिरहेको हुनुपर्थ्यो। छोडेर घर मात्र पुगेको उताबाट फोन आयो “तपाईँको कुकुरले त मेरो बच्चालाई टोक्यो, फिर्ता लानुस् ।“

जोर्डनलाई अरुकोमा छोड्नुको मेरो बाध्यता थियो। मसङ्ग आफ्नो घर थिएन र बसेको घरमा नराख्न भनेअनि कुकुर लगेको मान्छेले कुकुर फिर्ता लान भने । भूकम्पको बेला राम्रो फ्ल्याट पाउन नि गाह्रै थियो। मैले केही सोच्नै सकिन। मलाई धेरैले सल्लाह दिएका थिए सुइ हानेर कुकुर मार्नलाई । मैले धेरै सोच्दा पनि मलाई आँट आएन र सकिन । आखिरमा मैले उसलाई खुला छोड्दिने निर्णय गरेँ। म त्यो पनि गर्न सक्दैनथिएँ र बुवालाई कतै टाढा लगेर छोड्दिन आग्रह गरेँ। उहाँले मान्नुभयो र बुवा र भाइ भएर कुकुरलाई मोटरसाइकलमा टाढा छोड्दिनुभयो। धेरै बेर पछ्यायो पनि रे, सुन्दा खेर मेरो मन नै सिरिङ्ग भएको थियो ।

धेरै दिनसम्म त्यसकै बारेमा सोचेँ र विस्तारै उसलाई बिर्सन थालेको थिएँ । भुइचाँलो पछि म धेरै ठाऊँ कोठा सर्नुपर्यो, त्यही बेलामै भक्तपुरमा जग्गा किनेर घर बनाउन उता पनि सरियो। भक्तपुरबाट आवतजावत गर्दा पेप्सीकोलाको बाटो या त अरनिको राजमार्ग हिँड्नै पर्थ्यो। त्यहाँ गाडी द्रूत गतिमा हिँड्ने भएका हुनाले होला दिनहुँ जस्तो एउटा कुकुर बाटोमा मरिरहेका हुन्थे अनि बेवारिसे लास भएर सडकमै हुन्थे, प्राय सबै डगबहादुर र डगकुमारीहरु (आजकल सामुदायिक कुकुर भनिन्छ क्यारे)। त्यो देखेपछि मलाई असह्य हुन थाल्यो र पश्चात्ताप पनि । मैले छोडेको कुकुरको पनि त यो हविगत हुननसक्ने होइन भन्ने कुराले दिनदिनै सताउन थाल्यो र मलाई कसैलाई गाली गर्ने हक छैन भन्ने कुरा नि अनुभूति भयो।

एकदिन आमासङ्ग यो कुरा गर्दा आमालाई नि निकै नरमाइलो लागेर कुकुर खोज्न हिँड्नुभएछ। दिनभरि खोज्दा नभेटिए पछि आमा फर्कँदै गर्दा आमाले जोर्डनलाई देख्नुभएछ । घाँटीमा बेल्ट लागेको रहेछ अनि आर्को कुकुरसङ्ग खेल्दै रहेछ। आमालाई बोलाउन मन रहेछ तर ऊ खुसी भएर सङ्गै आउन खोजे लाने ठाऊँ पनि त छैन भनेर आफैलाई रोक्नुभएछ। त्यो रात त्यो कुरा सुनेर धेरै खुसी लाग्यो तर मनमनै आफूलाई गाली गरेर धिक्कारेँ पनि। त्यो दिनदेखि मैले आफैलाई कुकुर पाल्न अयोग्य माने र सायद कुनै दिन कुकुर पाल्न सक्छु जस्तो मलाई लाग्दैन। कुनै कुकुरलाई मायाले सुमसुम्याउन खोज्दा पनि जोर्डनले भोग्नु परेको दुःख मलाई याद आउँछ ।

मैले आफ्नो परिस्थितिमा जोर्डनलाई सही गरेँ या गलत मलाई थाहाछैन तर मैले आफूलाई सबसे माया गर्ने एउटा भाइ या साथी गुमाएँ। आमाले भनेको ठाऊँ तिर जाँदा उसलाई भेटिन्छ कि भनेर धेरै हेरेको छु तर आजसम्म उसलाई देख्न पाएको भने छैन। आज कुकुर तिहार अर्थात कुकुरलाई पुजा गर्ने दिन म जोर्डनसङ्ग माफी माग्न चाहन्छु। लेख्नुको आर्को उद्धेश्य भनेको कुकुरलाई घाँटीमा सिक्रीले बानेर, खोरमा थुनेर, सुरक्षाका लागि भनेर मात्र पाल्ने सबैलाई आज पुजा गरेर मात्र धर्म हुँदैन भनेर विन्ती चढाउनु पनि हो। व्यस्ताताले आफ्नासङ्गै आत्मियता हराउँदै गएको सहरमा सायद जोर्डनजस्तै अरु कुकुरजस्ता साथीको नि अभाव नै होला । आजको दिन म मेरो त्यो साथीलाई सम्झँदै माफी माग्न चाहन्छु।

२०७२ कार्तिक २० मा हाम्राकुरामा प्रकाशितः

https://hamrakura.com/news-details/51174/2018-11-06

Bisesh Sangat Written by:

I am a Communication Practitioner. I mainly work with people and try to feel their story. I also am a music lover, a traveller and I am a huge Manchester United fan.

Be First to Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *